जनै पूर्णिमाको अवसर पारेर साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट २० सेकेण्डको ट्रेलरले फिल्मको कथा, परिवेश, पात्र र परिस्थिति उजागर गर्दै दर्शकको मन छोएको छ।
फिल्मको कथा आर्थिक अभावसँग जुधिरहेका एक दम्पतीको जीवन वरिपरि घुमेको छ। ट्रेलरअनुसार, अभिनेता सौगात मल्ल द्वन्द्वकालमा अपाङ्ग भएपछि उनी राज्यबाट ५ लाख रुपैयाँ पाउँछन्। त्यसै पैसाको लोभमा अभिनेत्री बेनिशा हमाल ले उनीसँग विवाह गर्छिन्। तर जब पैसा सकिन्छ, बच्चा जन्मिन्छ र ऋण थोपिन थाल्छ, तब दम्पतीको सम्बन्धमा दरार आउन थाल्छ। अन्ततः बेनिशा घर छाडेर जान्छिन्।
यसपछि सुरु हुन्छ सौगातको संघर्षको कथाः पर्खाइ, पीडा र जीवनका कठिन मोडहरू। पात्रहरूले बोलेका गहिरा संवाद र यथार्थपरक घटनाक्रमले ट्रेलरलाई गम्भीर बनाएको छ। राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल तथा बाल कलाकारहरू करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी को दमदार अभिनय देख्न पाइनेछ।
फिल्मको लेखन निर्देशक साने र प्रदीप भारद्वाज को हो। प्रस्तुतकर्ता सिमोस सुनुवार रहेका छन् भने निर्माता भुगोल कुमार कार्की र विकासराज जोशी हुन्। कार्यकारी निर्माताका रूपमा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी तथा सह-निर्मातामा गंगाराम श्रेष्ठ रहेका छन्।
दिव्य सुवेदी को छायांकन, बन्दे प्रसाद को सम्पादन, बाबुल गिरी को संगीत तथा देव महर्जन र शंकर महर्जन को द्वन्द्व निर्देशन फिल्ममा रहेको छ।ट्रेलरले दिएको संकेतअनुसार, ‘सिटामोल’ एक भावनात्मक, यथार्थपरक र सशक्त प्रस्तुति बन्ने अनुमान गर्न सकिन्छ। साउन २३ गतेबाट प्रदर्शनमा आउने यो फिल्म दर्शकका लागि अवश्य हेर्नैपर्ने सूचीमा पर्नेछ