नेपाली चलचित्रमा ‘जुत्ता’ नाम राखेर फिल्म बनाउने ट्रेन्ड देखिन थालेको छ । निर्देशक निकेश खड्काले २०७४ सालमा ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए भने यस दशैंमा दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ प्रदर्शन हुँदैछ । अब यसै क्रमलाई निरन्तरता दिँदै निर्देशक नवीन सुब्बाले ‘लाहुरेको जुत्ता’ नामक नयाँ फिल्म बनाउने भएका छन्।आगामी असोजपछि छायांकनको तयारी गरिएको यस फिल्मका लागि केही दिनअघि पहिलो चरणको अडिसन सम्पन्न गरिएको निर्माण कम्पनी मेन्छयायेम पिक्चर्सले जानकारी दिएको छ। अडिसनमा एक सयभन्दा बढी कलाकारले आफ्नो अभिनय कौशल प्रस्तुत गरेका थिए। फिल्मको कथा ४० को दशकको पहाडी लिम्बू गाउँको परिवेशमा आधारित रहने बताइएको छ।
‘नुमाफुङ’ जस्तो चर्चित र कालजयी फिल्म बनाएका निर्देशक सुब्बा गत वर्ष ‘गाउँ आएको बाटो’मार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका थिए। बुसान, टोरोन्टो लगायत विश्वका २० भन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा सहभागिता जनाएको उक्त फिल्मले घरेलु बक्स अफिसमा औसत व्यापार गरेको थियो। अब वर्षेनि नयाँ फिल्म बनाउने योजनामा रहेका सुब्बाको ‘लाहुरेको जुत्ता’ उनको निर्देशनमा बन्ने पाँचौं फिल्म हुनेछ।