सुपरहिट अभिनेता जोडी दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक नयाँ फिल्म ‘मितज्यू’ मा सँगै देखिने भएका छन्। फिल्म निर्माता जनक घर्ती मगरले सामाजिक सञ्जालमार्फत सौगात मल्ल फिल्ममा अनुबन्ध भएको जानकारी दिएका हुन्। दयाहाङ भने केही महिनाअघि नै अनुबन्ध भइसकेका थिए।आदिवासी जनजाति समुदायमा प्रचलित मितेरी साइनोको कथामा आधारित यस फिल्ममा दयाहाङ र सौगात मित पात्रको भूमिकामा देखिनेछन्। चर्चित जोडीको पुनर्मिलनले दर्शकमाझ उच्च उत्साह थपिएको छ।फिल्ममा डान्सर तेरिया मगर र स्मिता लामिछानेको पनि अभिनय रहनेछ। तेरिया यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्।अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको स्क्रिप्ट महेश राईले लेखेका हुन् भने निर्माण जिम्मेवारी जनक घर्ती मगरले लिएका छन्। अनिल र जनकले यसअघि ‘घरज्वाइँ’ फिल्ममा सहकार्य गरेका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो।जि.एम. मुभिज प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन मंसिरदेखि पोखरा र ढोरपाटन क्षेत्र आसपासमा गरिनेछ। शिशिर बिशङ्खेको छायांकन रहने यस फिल्म चैत २७ गते प्रदर्शन हुने तय भइसकेको छ।