हाल भारतीय फिल्म उद्योगमा सर्वाधिक चर्चा कमाएको फिल्म हो ‘सैयारा’, जसले नयाँ कलाकारको साथ मात्र ६ दिनमै १५० करोड भारु कमाउँदै तहल्का मच्चाएको छ। ४५ करोडको लागतमा बनेको यो फिल्मले हालसम्म सलमान खानको ‘सिकन्दर’, अक्षय कुमारको ‘स्काइ फोर्स’ र ‘केशरी च्याप्टर २’, सनी देओलको ‘जाट’ र राजकुमार रावको ‘भूल चूक माफ’ जस्ता ठूला स्टारको फिल्मको लाइफटाइम कलेक्सन उछिनीसकेको छ। ‘सैयारा’ले आठवटा नयाँ रेकर्ड बनाएको छ, जसमा कुनै नयाँ कलाकारको फिल्मबाट सबैभन्दा ठूलो ओपनिङ (२२ करोड), एडभान्स बुकिङबाट ९ करोडमाथिको कमाइ, र ३ लाखभन्दा बढी टिकट बिक्री भएको उल्लेखनीय छ। यो निर्देशक मोहित सूरीको करिअरकै सबैभन्दा ठूलो ओपनिङ भएको फिल्म हो, जसले उनले बनाएका ‘आशिकी २’ र ‘एक भिलेन’को सुरुआती व्यापार पनि पार गरिदिएको छ। फिल्मले विकेन्डमा ११.९ मिलियन डलर कमाएर विश्वभर नवौं सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्मको स्थान बनाएको छ, भने २०२५ को टप फाइभ फिल्ममा समेत आफ्नो स्थान सुरक्षित गरेको छ। नयाँ कलाकारको प्रेमकथामूलक फिल्म भएर पनि १८ हजार शो पाएको ‘सैयारा’ले ३ दिनमै ‘रेड २’, ‘सितारे जमीन पर’ जस्ता फिल्मलाई उछिन्दै नयाँ कीर्तिमान बनाएको हो। व्यापारको हालको गति हेर्दा फिल्मले ३०० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ, जसले नयाँ अनुहार र सशक्त कथावाचनले पनि बक्स अफिसमा भारी प्रभाव पार्न सक्छ भन्ने प्रमाणित गरेको छ।