विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चर्चा बटुलेको नेपाली फिल्म ‘पूजा, सर’अब युरोपियन मुलुक फ्रान्सका हलहरूमा पनि प्रदर्शनमा आएको छ। बुधबारदेखि फ्रान्सका ६२ हलहरूमा एकैसाथ फिल्म रिलिज गरिएको हो। फ्रान्सको प्रतिष्ठित वितरण कम्पनी एआरपी सेलेक्सनले फिल्मको वितरण गरिरहेको छ। कम्पनीका अनुसार फिल्मले त्यहाँका दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।कम्पनीकी सह-उत्पादन प्रमुख मिशेल हाल्बस्टाडले फिल्मप्रति उत्साह व्यक्त गर्दै भनिन्, “यो एउटा यस्तो फिल्म हो, जसले रहस्य, संस्कृति र दृश्यहरूमार्फत सिधै हामीलाई त्यस परिवेशमा डुबाइदिन्छ। अप्रत्याशित रूपमा गहिरो र आकर्षक अनुभूति दिने यो फिल्म फ्रान्सेली दर्शकमाझ ल्याउन पाउँदा हामी निकै खुसी छौं।”फ्रान्सअघि फिल्मलाई गत मे महिनामा स्विजरल्याण्डमा रिलिज गरिएको थियो, जहाँ अझै पनि पाँच सहरका हलमा चलिरहेको निर्देशक दीपक रौनियारले जानकारी दिए। फिल्म अब अष्ट्रेलिया र न्युजिल्याण्डमा प्रदर्शनको तयारीमा रहेको छ। त्यसका लागि मेलबर्नस्थित ‘स्क्रिनएक्सकोप’ नामक कम्पनीले यसको वितरण अधिकार खरिद गरिसकेको छ।‘पूजा, सर’को साउण्डट्र्याक (ब्याकग्राउण्ड स्कोर) पनि अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक गरिएको छ। स्पोटिफाई, अमेजन प्राइम, युट्युब लगायतका डिजिटल प्लेटफर्ममार्फत २४३ देशमा यसको संगीत उपलब्ध छ। यसका लागि प्लाजा मेयर कम्पनीले अर्काड सोनी म्युजिकको माध्यमबाट वितरण गरेको हो।फिल्ममा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, आरती मण्डल, घनश्याम मिश्रा, गौमाया गुरूङ लगायतको अभिनय रहेको छ। सन् २०२४ मा भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यस फिल्मले बुसान, ह्याम्बर्ग, मुम्बई, गोथेनबर्ग जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि आफ्नो उपस्थिति जनाइसकेको छ।