लोकप्रिय नेपाली लोक-रक ब्यान्ड नेपथ्य आगामी अगस्टदेखि युरोपको पाँच मुलुकमा शृङ्खलाबद्ध सांगीतिक यात्रा गर्दैछ। बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियमका विभिन्न शहरमा ब्यान्डले कन्सर्ट प्रस्तुत गर्ने तयारी गरेको हो। यात्रा अगस्ट ९ मा लन्डनको प्रतिष्ठित Wembley हलबाट सुरु हुनेछ भने त्यसपछि अगस्ट २३ मा डेनमार्कको कोपेनहेगनस्थित Pumpehuset हलमा दोस्रो प्रस्तुति हुनेछ। यो हल औद्योगिक युगको पुरानो गोदामलाई आधुनिक संगीत स्थलमा परिणत गरिएको ठाउँ हो जहाँ नेपथ्य सन् २०१६ मा पनि प्रस्तुत भइसकेको छ। डेनमार्कपछि ब्यान्ड अगस्ट २७ मा माल्टाको उत्तरी सहर आटार्डस्थित Malta Fairs and Conventions Centre मा गीत गुन्जाउनेछ। त्यहाँबाट यात्रा पोर्चुगलको राजधानी लिस्बन पुग्नेछ, जहाँ अगस्ट ३१ मा Lisboa Ao Vivo हलमा प्रस्तुति तय भएको छ। अन्तिम कार्यक्रम सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरस्थित Studio Seven (AED Studios) मा हुनेछ, जहाँ नेपथ्य यसअघि सन् २००५ मा आरेनबर्ग थिएटरमा प्रस्तुत भइसकेको थियो। पछिल्लो समय यी देशहरूमा विशेष गरी माल्टा, पोर्चुगल र बेल्जियममा रोजगारी र बसोबासका लागि नेपालीको उपस्थिति उल्लेख्य मात्रामा बढेकाले ब्यान्डले युरोप यात्रा गर्ने निर्णय लिएको हो। आयोजकका अनुसार केही सहरमा कन्सर्टका टिकटहरू सकिन थालेका छन् र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। नेपथ्यको यसपटकको टोलीमा व्यवस्थापक, प्राविधिक र कलाकार गरी १४ सदस्य रहेका छन्। मञ्चमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्। कार्यक्रमको व्यवस्थापन नेपालयले सम्हाल्नेछ भने प्रमुख व्यवस्थापक किरणकृष्ण श्रेष्ठका अनुसार, नेपथ्यको प्रस्तुतिले नेपालका गाउँदेखि विश्वका अग्ला सहरसम्म एउटै साङ्गीतिक भावना बोकेको अनुभूति दिलाउँदै आएको छ। यसपटक युरोपका सबै प्रस्तुति स्तरीय हल र प्रविधिक संयोजनका साथ आयोजना हुनेछन्। दर्शकहरूले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत कन्सर्टको टिकट अनलाइन किन्न सक्नेछन्।