यही साउन १६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म **‘रियाल रिङ्गेट’**को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ। गीतमा रामचन्द्र काफ्लेको स्वर तथा संगीत छ भने साहित्यकार अमर न्यौपानेले यसका शब्द रचना गरेका छन्। गीतले रोजगारीका लागि वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढंगले चित्रण गरेको छ।गीतको भिडियोमा विदेशिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक यातना, बन्धक हुँदा भोग्नुपर्ने पीडादायी अवस्था र परिवारको सम्झनालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। गीतमार्फत फिल्मले वैदेशिक श्रम जीवनको यथार्थलाई प्रस्ट्याउने संकेत मिल्छ।फिल्मको नाम नै यसको विषयवस्तु झल्काउने खालको छ। ‘रियाल’ कतार र साउदी अरबको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई मुद्राको संयोजनले नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकलाई संकेत गर्छ।विभोर पोखरेलको निर्देशन रहेको फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापालगायतका कलाकारको अभिनय छ। फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने गगनलाल प्रधान यसका निर्माता हुन्।