नेपालको लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम कमेडी दरबार का सिर्जनाकर्मीहरूले पहिलो फिल्म ककाकिकी निर्माण गर्ने घोषणा गरेका छन्। सोमबार सार्वजनिक गरिएको पोस्टरसँगै फिल्मको आधिकारिक रुपमा जानकारी दिइएको हो।
फिल्म ककाकिकी को निर्देशन कमेडी दरबारकै निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले गर्नेछन्। विशेष कुरा के छ भने, यी दुवै श्रीमान–श्रीमती हुन्, जसले टेलिभिजनको सफल यात्रालाई अब फिल्म माध्यममा विस्तार गर्दैछन्।
पोस्टरमा देखिएअनुसार, मुख्य भूमिकामा तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठी रहनेछन्। पोस्टरमा तृप्ति र गौरीलाई बुढ्यौली गेटअपमा रेखासँग लड्दै देखाइएको छ, जबकि महेश त्रिपाठी गम्भीर मुद्रामा देखिन्छन् — जसले फिल्मको कमेडी र द्वन्द्व मिसिएको फ्लेवर झल्काउँछ।
विशेषगरी, तृप्ति नाडकरका प्रशंसकका लागि यो फिल्म रोचक बन्न सक्छ, किनकि उनी यो फिल्ममार्फत् झण्डै डेढ दशकपछि नेपाली रजतपटमा कमब्याक गर्न लागेकी हुन्।
फिल्म ककाकिकी मा कमेडी दरबारका चर्चित कलाकारहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिमल्सेना र सीडी विजय अधिकारीले समेत अभिनय गर्नेछन्। फिल्मको कथा अवधारणा सुमन अग्रवालको रहेको छ भने पटकथा बिक्की अग्रवालले लेखेका हुन्। छायांकन जिम्मेवारी चर्चित छायाँकार सुदीप बरालले लिनेछन्।
निर्देशक बिक्की अग्रवालले फेसबुकमार्फत् आफूलाई ‘संसारकै सबैभन्दा भाग्यमानी व्यक्ति’ भन्दै अग्रज कलाकारहरूसँग सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गरेका छन्। साथै उनले दर्शकलाई फरक स्वादको कमेडीको भरोसा दिएका छन्।
फिल्मको छायांकन आगामी असोज १७ गतेदेखि सुरू हुने बताइएको छ।