लोकप्रिय हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’ का कलाकार अर्जुन घिमिरे (पाँडे) अब निर्देशनमा पनि डेब्यु गर्दै छन्। उनले ‘झरीपछिको इन्द्रेणी’ नामक फिल्ममार्फत आफ्नो पहिलो निर्देशन यात्रा सुरु गरेका हुन्। बिहीबार ललितपुरको धन्वन्तरी बाराही मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायांकनको सुरुवात गरिएको छ।

बाबु–छोराबीचको सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर तयार गरिँदै गरेको यस फिल्ममा अर्जुन घिमिरे स्वयं अभिनय पनि गर्दैछन्। उनीसँगै गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारहरूको अभिनय रहनेछ। विशेष कुरा के छ भने, अभिनेता गणेश उप्रेतीले यसै फिल्ममार्फत ९ वर्षपछि अभिनयमा कमब्याक गर्दै छन्। उनी पछिल्लो पटक सन् २०१६ मा रिलिज भएको ‘होमवर्क’ फिल्ममा देखिएका थिए।

फिल्मको कथा कुमार व्यञ्जनकार (कुमार बेन) ले लेखेका हुन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेले तयार पारेका छन्। बुद्ध थापाले छायांकन र सुशील कडरियाले निर्माणको जिम्मा लिएका छन्। फिल्मको एउटा विशेष गीतमा काठमाडौं महानगरका मेयर बालेन शाहको र्‍याप समावेश गरिने जानकारी दिइएको छ।

करीब ४५ दिनको सेड्युलमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा छायांकन हुने फिल्मलाई अर्जुन घिमिरेले ‘सक्किगोनि’को अपग्रेड भर्सन भनेका छन्। उनका अनुसार, “यो पूर्ण रूपमा फेमिली ड्रामा हो। जुनसुकै नेपाली घर-परिवारमा घट्ने घटनाहरूलाई हामीले सजीव रूपमा उतार्न खोजेका छौं।”