नेपालको हिमाली क्षेत्रका पाटनमा बर्सातको समयमा फुल्ने एक मनमोहक फूल हो — बुकी। बागलुङ जिल्लाको ढोरपाटन र त्यस आसपासका गाउँमा मनाइने चाडपर्व, धर्म र संस्कृतिसँग विशेष सम्बन्ध बोकेको यही फूलको नाममा अब एक नेपाली फिल्म बनेको छ।

मोहन केसीको निर्देशनमा तयार भएको फिल्म *‘बुकी’*को फर्स्टलुक पोस्टर शनिबार सार्वजनिक गरिएको छ। पोस्टरमा एक पुरुष र ६ महिला पात्रहरू लेकाली चौरमा भलिबलको अभ्यास गरिरहेको दृश्य देखिन्छ। चौरभरि सेतो रंगको बुकी फूल पनि फुलेको छ। यस दृश्यबाट फिल्मको कथा महिला भलिबल टुर्नामेन्टसँग सम्बन्धित हुनसक्ने अनुमान गर्न सकिन्छ, यद्यपि निर्माण टिमले यसबारे स्पष्ट जानकारी दिएको छैन।

सन् २०२६ मा रिलिजको लक्ष्य राखिएको यस फिल्ममा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता लक्ष्मण सापकोटा, अमिशा काउचा थापा र रमेश थापा हुन् भने कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। जितु थापा र सुनील बुढाथोकी सह-निर्माताका रूपमा रहेका छन्।

प्राविधिक पक्षमा विकास गन्दर्भले छायांकन  सम्हालेका छन्, संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको छ भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

*‘बुकी’*को छायांकन काठमाडौं, पोखरा र ढोरपाटन (बागलुङ) क्षेत्रहरूमा गरिएको हो।