यतिबेला छायांकनमा रहेको नेपाली फिल्म ‘मिरमिरे’ माघे सङ्क्रान्तिको विदा पारेर आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ। शुक्रबार फिल्मकी मुख्य अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसरमा निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो।

निर्देशक यम शेर्पाका अनुसार वितरकसँगको सल्लाहमा माघ १ गतेलाई प्रदर्शन मिति तय गरिएको हो। केही समयदेखि फिल्मको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ भने त्यसअघि काभ्रेपलाञ्चोकमा केही प्रतिशत छायांकन सम्पन्न भइसकेको छ। अबको दुई साताभित्र फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ।

फिल्ममा सिर्जना निङलेखुदयाहाङ राई, र प्रकाश सपूत मुख्य भूमिकामा छन्। साथै माओत्से गुरुङछुल्ठिम गुरुङभोलाराज सापकोटा, तथा बाल–कलाकारहरू शाइसा गौचनदिविशा पन्तचिराग श्रेष्ठनमनराज गजुरेलको पनि अभिनय रहेको छ।

यम शेर्पाको निर्देशन र लेखन रहेको फिल्ममा आलोक शुक्ला छायाँकारका रूपमा छन्। फिल्म यार्सा फिल्म्सको प्रस्तुति हो। निर्माता निमु शेर्पाछोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् भने गोविन्द बोहरा र सुदीप कुँवर सह–निर्माताको रूपमा संलग्न छन्।

फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल हुन्। फिल्मलाई आरआर फिल्म्सले नै देशभर वितरण गर्नेछ।