यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेका तीन नेपाली फिल्ममध्ये एक ‘माइतीघर’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। मिलन तामाङको निर्देशनमा बनेको फिल्मको पोस्टरमा मुख्य पात्रहरूको लुक्स, गेटअप र मुड प्रस्ट देखाइएको छ।
पोस्टरमा केदार घिमिरे (माग्ने बुढा), प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई देख्न सकिन्छ। उपासना तामाङ पहिरनमा प्रस्तुत हुनु र पृष्ठभूमिमा ध्वजापताका टाँगिएको घर देखिनुले फिल्म तामाङ संस्कृतिको कथामा आधारित रहेको संकेत गर्छ।
फिल्ममा बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतको पनि अभिनय छ। ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारी प्रस्तुतकर्ता रहेको यस फिल्ममा रविन शेरचन र धीरज तामाङ निर्माता छन् भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्।
फिल्ममा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत तथा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र स्वर्गीय जयदेवको संगीत समावेश छ। पार्श्व संगीत रोहित शाक्य र शैलेश श्रेष्ठले तयार गरेका हुन् भने द्वन्द्व निर्देशन अष्ट महर्जनको छ।