यसपालिको दशैंको फूलपाती अर्थात् असोज १३ गते नेपाली फिल्म उद्योगमा त्रिपक्षीय भिडन्त हुने भएको छ । ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ गरी तीन वटा फिल्म एकैदिन प्रदर्शनमा आउने तयारीमा छन् ।

यसमध्ये ‘बलिदान’ले आक्रामक प्रचारमा टेवा दिँदै दर्शकको ध्यान आकृष्ट गराइरहेको छ भने ‘हरिबहादुरको जुत्ता’ले पनि फर्स्टलुक पोस्टर सार्वजनिक गरेर प्रचारको काम सुरु गरेको छ । सार्वजनिक पोस्टरमा मुख्य अभिनेता हरिवंश आचार्य आफ्नो चर्चित पात्र ‘हरिबहादुर’को पहिरन र शैलीमा प्रफुलित मुद्रामा देखिएका छन् । उनले स्टिलको बाकस बोकेका छन् भने पछाडि झोलामा जुत्ता झुन्ड्याएका छन्, जसले फिल्ममा उनको पात्रको मूड र लुक्सलाई दर्शाउँछ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणि नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको निर्माण सरोज ओली र मोहितवंश आचार्यले संयुक्त रूपमा गरेका छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको छ भने आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईँले स्वर दिएका छन् । खासगरी हरिवंश आचार्यले फिल्मको कथा र पटकथा पनि लेखेका छन् ।

यसरी असोज १३ गते प्रदर्शन हुने यी तीन फिल्मबीचको प्रतिस्पर्धाले नेपाली फिल्म बजारमा उत्साह थप्ने अपेक्षा गरिएको छ ।