पल शाह र बेनिशा हमाल अभिनीत फिल्म ‘मोहर’ यस्तै साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस फिल्मको तेस्रो गीत ‘सपना हो कि विपना हो’ सार्वजनिक गरिएको छ । वियोगान्त भाव बोकेको यस गीतमा गजल गायक थानेश्वर गौतम र लोक गायिका शान्तिश्री परियारको स्वर रहेको छ । यसअघि ‘अञ्जिला’ फिल्ममा सहकार्य गरेका यी कलाकारको ‘रात किन हुन्छ’ गीत पनि निकै चर्चित बनेको थियो ।

गीतको शब्द प्रभा बर्तौलाले रचना गरेका हुन् भने संगीत थानेश्वर गौतमकै रहेको छ । गीतले छिन छिनमा बदलिंदो जीवनलाई ‘सपना हो कि विपना हो’ भनी प्रश्न उठाएको छ । प्रेम सम्बन्धमा आउने संकट र जीवनका दुःखहरूलाई गीतले मर्मस्पर्शी शब्दमा अभिव्यक्त गरेको छ ।

देउकी कुप्रथाको कथामा आधारित फिल्म ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन् भने बालकलाकारको रूपमा सारा शर्माको पनि अभिनय छ ।

फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन् । छायांकन दीपेन बस्न्यातले गरेका हुन् भने सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको योगदान रहेको छ । समीर मियाको भिएफएक्स, कुमार महर्जनको द्वन्द्व निर्देशन, र रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी फिल्मको अन्य महत्वपूर्ण पक्ष हुन् ।

फिल्मका दुई अन्य गीतहरू पनि दर्शकमाझ निकै लोकप्रिय भएका छन् ।