‘नाईँ नभन्नू ३’ र ‘समर लभ’ का निर्देशक मुस्कान ढकाल ६ वर्षपछि पुनः निर्देशनमा फर्किने भएका छन्। उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रत्यौली’ को थिम पोस्टर शुक्रबार सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ। पोस्टरमा ढुंगा र माटोले बनेको एउटा सानो घर देखिन्छ, जसले फिल्मको ग्रामीण परिवेशलाई संकेत गर्दछ।

फिल्मको प्रस्तुतकर्तामा रञ्जन रिजाल रहेका छन्, जसले यो फिल्मबाट निर्माण क्षेत्रमा पनि प्रवेश गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियोमा मोडलका रूपमा सक्रिय रिजालले एक सयभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन्। नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकाल ‘रत्यौली’ का निर्माताका रूपमा छन्।

यो फिल्म नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित भएर बन्ने भएको छ। छायांकन आगामी तिहारपछि सुरु गरिनेछ। निर्देशक ढकालले अहिले लोकेशन र कलाकार छनोटको काममा जुटिरहेको बताए। फिल्मले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित तरिकाले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

नेपाली समाजमा विवाह संस्कारको विशेष अङ्गका रूपमा ‘रत्यौली’ लाई लिइन्छ। विवाहको दिन महिलाहरूले बेहुलाको घरमा गाउने परम्परागत लोकगीत नै ‘रत्यौली’ हो। यही नाममा बन्न लागेको फिल्मले सांस्कृतिक पक्षलाई उजागर गर्ने विश्वास गरिएको छ।