करीब चार वर्षपछि चर्चित गीत ‘रेलको बाटो’ लाई आधार बनाएर नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। कर्णाली र सहरको अवस्था तुलना गर्दै बनेको उक्त गीतलाई युट्युबमा ९० लाखभन्दा बढीले हेरिसकेका छन्। अब सोही गीतका निर्देशक लक्ष्मण सुनारले आफ्नै कथा अनुसार फिल्म ‘रेलको बाटो’ निर्देशन गर्ने घोषणा गरेका छन्।

बिहीबार सार्वजनिक थिम पोस्टरमा पहाडी भूगोल, गाउँपालिका भवन, सडकमा खच्चड चलिरहेका दृश्य र हेलिकोप्टर उडिरहेको दृश्य देखाइएको छ, जसले राज्यको उपेक्षा र जनजीवनको संघर्ष झल्काउँछ।

फिल्ममा सामान्य नागरिकको संघर्ष, दम्पतीबीचको सम्बन्ध र राजनीतिक बेवास्तालाई मुख्य विषय बनाइनेछ। निर्देशक सुनारले कर्णालीको सडक अभाव, उपचार समस्याहरू र विकास योजनामा देखिने हस्तक्षेपलाई फिल्मको केन्द्रीय विषय बनाउने बताए।

संगीतमा सुरज पण्डित र छायांकनमा निसाल पौडेल रहनेछन्। कस्तुरी प्रोडक्सन र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्म यस वर्षको अन्त्यतिर छायांकन गरी आगामी वर्ष रिलिज गर्ने योजना रहेको छ।