गत वर्षको चर्चित र सफल फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगर अब आफ्नो दोस्रो फिल्म ‘जलाकी’ निर्माण गर्दैछन्। फिल्मको केही प्रतिशत छायांकन गत चैत्रमै सम्पन्न भइसकेको छ भने दोस्रो चरणको छायांकन आगामी असोज २१ गते देखि सुरु हुने तयारीमा छ।‘खुस्मा’मा चर्चित बनेको जोडी धीरज मगर र उपासना सिंह ठकुरी ‘जलाकी’मा पनि दोहोरिएका छन्। साथै, अभिनेता सोनम तोप्देन पनि मुख्य भूमिकामा रहनेछन्। फिल्ममा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिने छ, जसले पात्रहरूको सम्बन्धमा आउने उतारचढाव र भावनात्मक द्वन्द्वलाई उजागर गर्नेछ।सोमबार सार्वजनिक गरिएको दुई पोस्टरमा धीरज र उपासनालाई प्रस्तुत गरिएको छ— एउटा पोस्टरमा उनीहरू रोमान्टिक मुद्रामा देखिन्छन् भने अर्कोमा भावुक अनुहारमा। यसले प्रेम सम्बन्धमा आउने परिवर्तनहरूको संकेत गर्दछ।‘जलाकी’ शब्द मगर समुदायमा आस्थाको प्रतीक ढुङ्गा स्तम्भलाई जनाउने गर्दछ, जुन फिल्मको कथावस्तुसँग जोडिएको छ।फिल्ममा अन्य कलाकारहरूमा शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतको अभिनय रहनेछ। यस फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले पनि अभिनयमा डेब्यु गर्दैछिन्।फिल्मको छायांकन नेपाल र दक्षिण कोरियामा गरेर तीन चरणमा सम्पन्न गरिने जनाइएको छ।निर्माताहरूमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, र सुस्मिता बुढाथोकी रहेका छन्।शैलेन्द्र डी. कार्की फिल्मका छायाँकार ) हुन् भने एसडी योगी र सरित राईको संगीत रहनेछ।‘जलाकी’मा मगर र गुरुङ समुदायको संस्कृति र परम्परालाई प्रमुखतासाथ झल्काइने बताइएको छ। फिल्मको कथा, पटकथा तथा निर्देशन अशोक थापा मगर स्वयंले गरेका हुन्।