हलिउड र बलिउडमा दृश्य वास्तविक लागोस् भनेर करोडौं लगानीमा सेट तयार पार्ने चलन छ, तर नेपाली फिल्ममा भने अझैपनि ‘क्रोमा’ र ‘चिट’ नै सहज बाटो ठानिन्छ। तर, निर्देशक दीपेन्द्र के. खनाल भने यथार्थ नछोड्नेमा परिचित छन्।उनको पछिल्लो फिल्म ‘क्याप्टेन साब’ मा २०३०/४० सालको काठमाडौं देखाउन, खनालले तीनकुने क्षेत्रका घरहरूलाई सेतो रंगले पोतेर पुरानो शैलीको परिवेश सिर्जना गरेका छन्।“त्यो दशकको काठमाडौं कस्तो थियो भन्ने महसुस गराउन हामीले घर र वातावरणमै परिवर्तन गरेका छौं,” खनालले बताए यसअघि फिल्म ‘मेयर’ का लागि उनले १० हजारभन्दा बढी भिड जम्मा गरेर आमसभा खिचेका थिए। ‘क्याप्टेन साब’मा पनि उनले सेट र कास्ट्युममार्फत समयको साँचो पुनर्निर्माण गरेका छन् — पुराना सवारी साधन, डोको बोकेका व्यापारी, र नेवारी समुदायको जीवनशैली झल्किने दृश्यहरू।फिल्मको सेटबाट सार्वजनिक भएको तस्वीरमा खगेन्द्र लामिछाने सानो बक्सा बोकेका छन् भने सुरक्षा पन्त काखमा बच्चा च्यापेर रिक्सातिर जाँदैछन्। दृश्यले पात्रहरूको संघर्षपूर्ण जीवनको झलक दिन्छ।‘क्याप्टेन साब’ नेपाली सेनाका पूर्व अधिकृत क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित हो। फिल्म उनको आत्मकथा(बारुदमाथि उड्दा) मा आधारित छ।फिल्मका निर्मातामा निर्देशक खनालसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। छायांकन कृष्णबहादुर थापाले गरेका हुन् भने, प्रस्तुति पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेनमेन्टको सहकार्यमा भइरहेको छ।