ऋषि लामिछानेको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्र कुबेर शर्मा उर्फ माग्ने बुढा (केदार घिमिरे) वरिपरि घुमेको कथावस्तु प्रस्तुत गरिएको छ। ट्रेलर कमेडी, भावनात्मक दृश्य र सन्देशमूलक विषयवस्तुले भरिएको छ।

कुबेर गाउँमा बस्ने एक सामान्य व्यक्ति हुन् जसको ठूलो सपना हुन्छ – धनी बन्ने। त्यो सपना अनायासै पूरा हुन्छ, र पैसा हात परेपछि सहरको ऐश-आराममा रमाउन थाल्छन्। तर बिना मिहिनेत कमाएको पैसाले ल्याउने समस्याहरूले गर्दा उनी फेरि गाउँ फर्किएर आमासँग बस्न थालेको दृश्यले ट्रेलरको समापन हुन्छ।

फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी केदार घिमिरेको सेक्रेटरीको भूमिकामा देखिएकी छन्। साथै, विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी), र राधिका कँडेलको पनि अभिनय रहेको छ। अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा देखा पर्नेछन्।

हरितालिका तीजको अवसर पारेर फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन मित्र डि. गुरुङले गरेका छन्। लेखन सामीप्य राज तिमल्सेनाको रहेको छ। रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन् भने त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्यूजिक, साहिल खानको ट्रेलर सम्पादन तथा दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ।

फिल्ममा समावेश “जिन्दगी चल्दैछ ऐसमा” बोलको गीत अहिले दर्शकबीच निकै चर्चामा छ। प्रस्तुतकर्ता मुनाल घिमिरे रहेको फिल्मका निर्माता मधुसुदन शर्मा हुन्।