गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आगामी सोलफुल युएसए यात्रा’*मा सहभागी हुन अमेरिका पुगेका छन्। थ्री ई इन्टरटेन्मेन्टको व्यवस्थापन र ओनेस्ट रियल इस्टेटको प्रस्तुतिमा हुने यो साङ्गीतिक यात्रा अगस्ट १० तारिखदेखि सुरु हुँदैछ।

बाल्टिमोरबाट सुरु हुने यो टुर क्रमशः अगस्ट १५ मा बोस्टन, अगस्ट १६ मा ब्रान्फोर्ड, अगस्ट २४ मा फिलाडेल्फिया, अगस्ट २९ मा ह्यारिसबर्ग, अगस्ट ३० मा न्यूयोर्क, अगस्ट ३१ मा पिट्सबर्ग, सेप्टेम्बर ५ मा चार्लोट, सेप्टेम्बर ७ मा मिल्वकी, सेप्टेम्बर १३ मा नेब्रास्का, सेप्टेम्बर २० मा सेन्ट लुइस, सेप्टेम्बर २७ मा डालस, सेप्टेम्बर २८ मा ओक्लाहोमा सिटी लगायत २० भन्दा बढी अमेरिकी शहरमा पुग्नेछ।

कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र यसलाई भव्य बनाउने लक्ष्य रहेको थ्री ई इन्टरटेन्मेन्टले जनाएको छ। टुरको घोषणा भएपछि अमेरिकामा रहेका नेपाली समुदायबाट उत्साहजनक प्रतिक्रिया मिलिरहेको बताउँदै महेश काफ्लेले, “विदेशमा रहेका नेपाली दर्शकसामु प्रस्तुति दिन पाउनु हाम्रो लागि ठूलो खुशी हो,” भने। महेश र अस्मिताका ‘लजावती झार’, ‘नाच फिरिरी’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू नेपाली संगीत प्रेमीमा निकै लोकप्रिय छन्।

थ्री ई इन्टरटेन्मेन्ट अमेरिकी भूमिमा नेपाली कला, संस्कृति र संगीतलाई प्रवर्द्धन गर्दै आएको एक प्रतिष्ठित संस्था हो। यसले यसअघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित कलाकारहरूको अमेरिका टुर गराइसकेको छ। साथै, १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेको छ।

सन् २०२२ देखि थ्री ई इन्टरटेन्मेन्टले भर्जिनियामा “डिटिएफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा प्रवर्द्धन गर्ने ऐतिहासिक पहलसमेत गरेको थियो।