कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारंगी’ बाट प्रशंसा कमाएका अभिनेता विजय बरालको मुख्य भूमिका रहेको नयाँ फिल्म *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’*को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको साढे तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथा, पात्र र भावनात्मक पृष्ठभूमिबारे स्पष्ट चित्र प्रस्तुत गरेको छ।

ट्रेलरमा कोरिया जाने सपना बोकेर गाउँबाट सहर पुगेको एक पात्रको जीवन संघर्षलाई केन्द्रमा राखिएको छ। बुबा–छोरा तथा दिदी–भाइबीचको सम्बन्ध, तिनीहरूका उतारचढाव र भावनात्मक टकरावलाई निकै मार्मिक ढंगले देखाइएको छ। जनैको सांस्कृतिक महत्त्व र त्यससँग गाँसिएका भावनालाई पनि ट्रेलरले जोड दिएको छ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगरलगायत कलाकारको अभिनय देख्न पाइनेछ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्माण पेपरक्लिपका कमल न्यौपाने र विमल न्यौपानेले गरेका हुन्।

फिल्मको एसोसिएट निर्देशक मनिष राउत हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। नवीन गुरुङ र कृष्ण परियारले छायांकन, भरत रेग्मीले सम्पादन तथा चुल्ठे काजीले द्वन्द्व निर्देशन गरेका छन्।

तीजको अवसरलाई मध्यनजर गर्दै ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।