कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म *‘जारी २ : सङ अफ च्याब्रुङ’*को टिजर सोमबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको छ। करिब साढे दुई मिनेटको यो टिजरले फिल्मको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित रहेको स्पष्ट पार्छ।

टिजरको सुरुवात च्याब्रुङमा नाच्न नआउने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गर्ने संवादबाट हुन्छ। कथा मूलतः च्याब्रुङ बजाउन नजाने नाम्साङ (दयाहाङ राई) वरिपरि घुमेको छ। टिजरमा च्याब्रुङलाई लिम्बूको खुसीको स्वरको रुपमा व्याख्या गर्दै, “च्याब्रुङ मासिए लिम्बूहरु नै मासिने” सन्देश दिइएको छ। यसमा लिम्बू संस्कृति, पारिवारिक कलह र भावनात्मक उतारचढावको झलक पनि देखिन्छ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरले दम्पतीको भूमिका निर्वाह गरेका छन्। उनीहरूसँगै ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतका कलाकारको पनि अभिनय छ।

यस वर्षको दशैंको छेको पारेर आउँदो असोज ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। निर्देशक सुब्बाकै लेखन रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ।

दुई वर्षअघि प्रदर्शनमा आएको *‘जारी’*ले उत्कृष्ट प्रतिक्रिया पाउँदै बक्स अफिसमा सानदार कमाइ गरेको थियो। त्यसैले यसको सिक्वेल ‘जारी २ : सङ अफ च्याब्रुङ’ पनि सफल हुने अपेक्षा गरिएको छ।