अभिनेत्री रेखा थापा र पूजा शर्मा ‘उपहार’पछि फेरि एउटै पर्दामा देखिन लागेका छन्। यसअघि कहिले ‘काली २’ त कहिले नयाँ एक्सन फिल्ममा उनीहरूको सहकार्य हुने चर्चा भए पनि अब भने फिल्मको नाम पक्का भएको छ। उनीहरू ‘छत्तिसको आँकडा’ नामक फिल्ममा सहकार्य गर्ने भएका हुन्, जसलाई ‘कस्ले चोर्‍यो मेरो मन’का निर्देशक सविर श्रेष्ठले निर्देशन गर्नेछन्। निर्देशक श्रेष्ठका अनुसार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यही शनिबार शुभ–मुहूर्त गरेर छायांकन सुरु गरिने छ। पूजा शर्माका अनुसार फिल्मले दुश्मनजस्तै देखिने दिदी–बहिनीको कथा भन्नेछ, जसमा बाजाबाज र लफडाहरुले हास्य–मनोरञ्जन दिनेछन्। उनले भनेकी छन्, “मलाई कमेडी भूमिका खासै सुहाउँदैन भन्ने लाग्थ्यो, तर ‘उपहार’मा दर्शकले रुचाउनुभयो, ‘छत्तिसको आँकडा’मा पनि मेरो चरित्र फरक किसिमको छ।” उनले फिल्म आगामी चैत २८ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेकी छन्। काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस फिल्ममा रेखा र पूजासँगै महेश त्रिपाठीको पनि अभिनय रहनेछ। ‘छत्तिसको आँकडा’पछि रेखाले महेशसँग अर्को फिल्म ‘क का कि की’मा पनि काम गर्नेछिन्। बाबुराम निरौला र शिवम् अधिकारीको संयुक्त लेखन रहेको यस फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुने बताइएको छ।