‘छक्का पञ्जा’ समूहले अर्को वर्ष मात्र नयाँ फिल्म बनाउने भएपछि दीपकराज गिरीबाहेक समूहका अन्य कलाकारहरु बाहिरी ब्यानरका फिल्ममा सक्रिय छन्। केदार घिमिरे (माग्ने बुढा)ले गत वर्ष मात्रै तीनवटा फिल्ममा अभिनय गरेका थिए भने ‘छक्का पञ्जा’ श्रृंखलाकी निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि लगातार फिल्ममा काम गरिरहेकी छन्।
अहिले दीपाश्री ‘झरीपछिको इन्द्रेणी’को छायांकनमा व्यस्त रहेकी छन्, तर उनी अब अर्को नयाँ फिल्ममा पनि आबद्ध भएकी छन्। अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’मा दीपाश्रीले महत्त्वपूर्ण भूमिका निभाउनेछिन्। मंगलबार दुवै पक्षबीच लिखित सम्झौता सम्पन्न भएको छ।
फिल्ममा नीता स्वयं मुख्य भूमिकामा अभिनय गर्नेछिन् भने डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन्। आगामी असोजदेखि छायांकन सुरु हुने फिल्मको पोस्टर गत शनिबार दुईवटा सार्वजनिक गरिएको छ र प्रदर्शन मिति आगामी माघ १ गते तय गरिएको छ।
नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। भारतीय छायाँकार कवीर लाल र शाहिद लालले फिल्म खिच्नेछन्। कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए। फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहनेछ।