सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्देशित महिला प्रधान फिल्म ‘सतीदेवी’ अमेरिकामा पहिलोपटक प्रदर्शन हुने भएको छ। आउँदो साउन ३१ गते (१६ अगस्ट), हरितालिका तीजको अवसरमा भर्जिनियाको फेयरफ्याक्स पार्टी प्यालेसमा फिल्मको विशेष शो आयोजना गरिने छ। शो साँझ ५ बजेसुरु हुनेछ भने टिकट मूल्य १५ डलर राखिएको छ।

फिल्म अमेरिकामा प्रदर्शन गर्नको लागि पुष्कर पन्तको समूहले व्यवस्था गरेको हो। ‘ठूली’ फिल्मका निर्माता पन्तले महिला प्रधान फिल्म अझै बढी बन्नुपर्ने भन्दै अमेरिकामा ‘सतीदेवी’को विशेष शो आयोजना गरेको बताए।

निर्देशक लक्ष्मण सुवेदीले भर्जिनियापछि अन्य राज्यहरुमा पनि फिल्मको प्रदर्शन हुने जानकारी दिएका छन्। राष्ट्रिय चलचित्र अवार्ड-२०८०मा विशेष चलचित्रको पुरस्कार पाएको ‘सतीदेवी’ले अहिलेसम्म विभिन्न विधामा एक दर्जनभन्दा बढी अवार्ड जितिसकेको छ।

फिल्ममा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानियाँको अभिनय रहेको छ। ‘सतीदेवी’ले समाजमा अझै प्रचलित छोरा मात्र चाहिन्छ भन्ने पितृसत्तात्मक सोच र परम्परागत मानसिकतामा प्रश्न उठाएको छ।