कार्साङका निर्देशक यम शेर्पाको दोस्रो निर्देशकीय फिल्म मिरमिरे को छायांकन सम्पन्न भएको छ। निर्देशक शेर्पाका अनुसार, फिल्मको ३५ दिनको छायांकनमा एक गीतबाहेक सबै दृश्यहरू मंगलबार सकिएको छ। बाँकी रहेको गीत भने उपयुक्त समय अनुसार छिट्टै खिचिनेछ।

फिल्ममा कार्साङ जोडी दयाहाङ राई र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्। दयाहाङले मिरमिरे का लागि सरकारी कर कटेर ६० लाख पारिश्रमिक लिएका छन् भन्ने चर्चा चलेको छ। यदि यो सत्य हो भने, उनी नेपाली फिल्म उद्योगका सबैभन्दा महँगो अभिनेता बनेका छन्।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारले पनि अभिनय गरेका छन्। बाल–कलाकारको रूपमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन्। मिरमिरे को कथा–लेखन निर्देशक यम शेर्पाले स्वयं गरेका हुन्। फिल्मको छायाँांकन आलोक शुक्लाले गरेका छन्।

निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।