टिकटकमार्फत लोकप्रियता कमाएकी मोडल उषा उप्रेती अब फिल्म क्षेत्रमा आफ्नो कदम बढाउन तयार छिन्। केही महिनाअघि अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्ने फिल्म ‘आचार्य’ मा अनुबन्धित उषाले, दोस्रो फिल्मको रुपमा ‘आ बाट आमा’ मा पनि सम्झौता गरेकी छन्।

बुधबार निर्माण टिमले उषालाई फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा राखिएको जानकारी गराएको छ। यद्यपि उनको भूमिकाको विस्तृत विवरण हाल सार्वजनिक भएको छैन। सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उषाले अहिलेसम्म फिल्म अभिनयमा डेब्यु गरेकी छैनन्। ‘आचार्य’ र ‘आ बाट आमा’ मध्ये जुन फिल्म पहिला छायांकनमा जान्छ, त्यसलाई नै उनको डेब्यु फिल्म मानिने छ।

यस फिल्ममा विपना थापा, पल शाह, सिमरन पन्त, साथै दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत पनि अनुबन्धित भइसकेका छन्। फिल्ममा प्रदीप र विपना श्रीमान–श्रीमतीको भूमिकामा देखिनेछन् भने पल शाहले उनीहरुको छोराको भूमिका निभाउनेछन्। प्रदीप र विपनाले पहिले पनि ‘ह्रस्व दीर्घ’ मा सँगै काम गरिसकेका छन्।

द्वन्द्व निर्देशकको रूपमा परिचित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको ‘आ बाट आमा’ को छायांकन आगामी भदौ अन्तिमतिर सुरु हुने बताइएको छ। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मलाई आगामी फागुन १५ गते प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। फिल्मले आमा र छोराको गहिरो भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने बताइएको छ।