‘पाँडे’को रुपमा दर्शकमाझ चिनिएका कलाकार अर्जुन घिमिरेको पहिलो निर्देशकीय फिल्म **‘झरी पछिको इन्द्रेणी’**को छायांकन पूरा हुनुभन्दा अघि नै विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। काठमाडौं आसपासमा अहिले छायांकन भइरहेको यो फिल्मको निर्माण पक्षले शुक्रबार अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको घोषणा गरेको छ। उक्त अधिकार राम कार्कीले खरिद गरेका हुन्।

अष्ट्रेलियामा सफल उद्यमीका रुपमा स्थापित कार्की शिक्षा र माइग्रेशन सेवामा सक्रिय छन्। उनले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटी व्यवसायहरू सञ्चालन गर्दै आएका छन्। फिल्म वितरण क्षेत्रमा प्रवेश गर्दै उनले ‘झरी पछिको इन्द्रेणी’को टिमप्रति विश्वास गरेर छायांकन पूरा नहुँदै प्रदर्शन अधिकार खरिद गरेको बताएका छन्।

कार्कीका अनुसार, नेपालमा फिल्म प्रदर्शन हुने मितिसँगै अष्ट्रेलियाका प्रमुख सहरहरूमा पनि रिलिज गरिनेछ। उनले भने, “यो फिल्म अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ।”

फिल्म बाबु-छोराको कथामा आधारित छ र यसमा निर्देशक अर्जुन घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ। विशेषत: गणेश उप्रेतीले यो फिल्मबाट ९ वर्षपछि पुनरागमन गरेका छन्। फिल्मको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप पनि रहने जनाइएको छ।