यसपालिको दशैंको फूलपाती, १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। झन्डै २ मिनेट लामो टिजरले क्रोध, बदला, न्याय र देशभक्तिको भावनालाई समेटेको छ। साहसिक पात्र समीर भट्ट को वरिपरि टिजरको कथा घुमेको छ।

टिजरको सुरुवातमा विराज भट्ट को भ्वाइस ओभरमा देश संकटमा परेको र त्यसलाई रोक्न कठिन भएको उद्घोष सुनिन्छ। त्यसपछि सौगात मल्लदृढ अडानमा प्रस्तुत छन् भने अर्पण थापा राजनीतिज्ञको भूमिकामा देखिन्छन्।

हेमन्त बुढाथोकी ले राजसी पहिरनमा आफू सत्ताका लागि तयार भएको देखाउँदै बलिदानको संकेत दिएका छन्। टिजरको भावनात्मक केन्द्रबिन्दु भने ऋचा शर्माको संवाद बनेको छ, जहाँ उनी भावुक मुद्रामा सोध्छिन्, “के यो धर्तीमा अब त्यस्तो युग पुरुषको जन्म हुन्न, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” यसपछि समीर भट्टको दमदार एक्सन दृश्य देख्न पाइन्छ।

निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रको रुपमा टिजरमा छन् भने प्रेम पुरी प्रहरीको भूमिकामा छन्। कोरियोग्राफर सुनिल क्षेत्री पनि आदिवासी पात्रमा प्रस्तुत छन्।

निर्देशक सेनले टिजर सार्वजनिक गर्दै भने, “बलिदान केवल फिल्म होइन, हरेक नेपालीको मनको विद्रोहको प्रतीक हो। यो न्यायको विस्फोट हो।”

फिल्म आसुसेन फिल्म्स को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी, लेखक दर्शन जी, छायांकन महेश पौडेल, संगीत निर्देशन सुजन चापागाईँ, र द्वन्द्व निर्देशन स्टन्डर साम र श्री श्रेष्ठ ले गरेका छन्।

दर्शकमाझ फिल्मप्रति ठूलो हाइप बनेकोले ‘बलिदान’ बक्स अफिसमा धमाकेदार व्यापार गर्ने अपेक्षा गरिएको छ।