निर्देशक अशोक शर्माले गत फागुनतिर धमाकेदार शैलीमा आफ्नो नयाँ फिल्म डबल ट्रिपल को घोषणा गर्दै दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेका थिए। तर त्यही दिन अरू तीनवटा फिल्म रिलिज हुने भएपछि उनले मिति बदल्दै फागुन १ रोजे। तर, अब त्यो मितिबाट पनि फिल्म पछि धकेलिएको छ।

मुख्य कारण छायांकन नै सुरु हुन नसक्नु। शर्मा भदौ ५ बाट सुटिङ सुरु गर्ने तयारीमा थिए, दयाहाङ राई तयार पनि थिए। तर, अर्का मुख्य अभिनेता खगेन्द्र लामिछाने भने क्याप्टेन साब मा व्यस्त हुँदा डबल ट्रिपल रोकियो। त्यो फिल्म सकिन अझै २०–२५ दिन लाग्ने देखिएको छ।

उता, खगेन्द्रको सुटिङ सकिँदा दयाहाङ कबड्डी ५मितज्यू र पेन्सनपट्टा जस्ता प्रोजेक्टतिर लागिसकेका हुनेछन्। नतिजा, माघअघि डबल ट्रिपलको सुटिङ सम्भव छैन। यसले गर्दा फागुन १ को प्रदर्शन योजना असम्भव बनेको छ।

बारम्बार रिलिज मिति घोषणा गरेर पछि सार्नु अहिले नेपाली फिल्म उद्योगकै रोग जस्तै बनेको छ। स्क्रिप्ट र छायांकन पूरा हुनुअघि नै मिति घोषणा गरिन्छ, अनि पछि ‘बिरालोले बच्चा सारेझैँ’ सार्न बाध्य हुन्छ। अब डबल ट्रिपल कहिले रिलिज हुन्छ, त्यो भने दर्शकले अझै पर्खनुपर्ने देखिन्छ।