फिल्म ऊनको स्वीटरको चर्चित गीत काफ्लेकी गायिका झुमा लिम्बूले पहिलो पटक आफ्नो ब्यान्डसहित सांगीतिक कन्सर्ट गर्ने भएकी छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रैथाने घुमफिर २०८२ नेपाल टुर’ आयोजना हुने जानकारी गराइन् ।
आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरु हुने यस टुर अन्तर्गत देशका १० वटा सहरमा कन्सर्ट आयोजना हुनेछ । लिम्बूले काफ्लेसहित आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछिन् । साथै, प्रत्येक कन्सर्टमा विभिन्न सहर र गाउँका स्थानीय लोकसंगीत र नृत्य—जस्तै हाक्पारे, पालाम, घाँटु, सोरठी, देउडा, च्याब्रुङ, मारुनी लगायत—लाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
कन्सर्टबारे बोल्दै गायिका लिम्बूले भनिन्,
“लोकसंगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब हो । हाम्रो संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने हाम्रो उद्देश्य हो । ‘रैथाने घुमफिर’ गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्ने एउटा पुल बन्नेछ ।”
यस टुरमा आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म जारी २ले सहकार्य गर्ने भएको छ । यस सहकार्यले रैथाने संस्कृति, लोककला र मौलिक नृत्यको संरक्षण तथा प्रवर्द्धनमा विशेष योगदान दिने अपेक्षा गरिएको छ । एलओडीमा हुने उद्घाटन कार्यक्रममा जारी २को टिमले च्याब्रुङ बजाएर नृत्य प्रस्तुत गर्नेछ ।
यो वर्ष ‘रैथाने घुमफिर’ नेपालका विभिन्न सहरमै सीमित रहने भए पनि आगामी वर्षदेखि यसलाई विदेशमा समेत लैजाने तयारी भएको गायिका लिम्बूले बताइन् । प्रत्येक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने उल्लेख छ । उनका अनुसार, अन्य कार्यक्रमहरूको विस्तृत जानकारी क्रमशः सार्वजनिक गरिनेछ ।