आगामी शुक्रबार (भदौ ६ गते)देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को प्रिमियर विशेष भावुक क्षणसहित सम्पन्न भएको छ। बुधबार साँझ नयाँ बानेश्वरस्थित वान सिनेमाजका दुई अडिटोरियम एकैपटक भरिएर आयोजना गरिएको उक्त प्रिमियरमा उपस्थित कलाकार, निर्माता, आमन्त्रित पाहुना र दर्शकहरूले फिल्मको क्लाइमेक्स दृश्यमा आँसु झारेका थिए।

सबैभन्दा बढी भावुक बनेकी अभिनेत्री केकी अधिकारीलाई आँसु सम्हाल्न गाह्रो परेको थियो। हलभित्रै उनलाई एक महिलाले अँगालो हाल्दै सान्त्वना दिइन् भने छेवैमा रहेकी गायिका अञ्जु पन्तले पनि हातले थपथपाउँदै हिम्मत दिइरहेकी थिइन्। सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा समेत केकीको गला अवरुद्ध भएको देखिन्थ्यो। उनले भनिन्–
“आफ्नै फिल्म हेर्दा म प्रायः रोदैनथेँ। तर यसपटक भने पात्रसँगै आफ्ना बुबा र भाइको सम्झना आयो कि जस्तो लाग्यो। छायांकनदेखि डबिङसम्म क्लाइमेक्समा आँसु रोक्न सकेकी थिइनँ।”

गायिका पन्त पनि प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भक्कानिइन्। उनले फिल्मले परिवार, आदर र सम्बन्धको गहिरो महत्व प्रस्तुत गरेको भन्दै हरेक दृश्यले आफूलाई छोएको बताइन्। “यो फिल्मले श्रीमान–श्रीमतीबीचको आदर मात्र होइन, सारा परिवारलाई एकताबद्ध बनाउने भावनालाई उजागर गर्छ। दर्शकहरूले अनिवार्य हेर्नुपर्ने खालको उत्कृष्ट फिल्म बनेको छ,” उनको भनाइ थियो।

प्रिमियर कार्यक्रममा चर्चित कलाकारहरू सुनिल थापा, जितु नेपाल, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ लगायतको उपस्थिति थियो। त्यस्तै, निर्देशक डा. कपिल रिजाल, छायाँकार गौरीशंकर धुंजु, कवि तथा गीतकार विप्लव प्रतीक र स्क्रिप्ट लेखक प्रदीप भारद्वाजपनि सहभागी थिए।

हिमाल न्यौपानेको निर्देशनमा बनेको यस फिल्मले परिवार, सम्झना, जिम्मेवारी र आपसी सम्बन्धका धागाहरूलाई प्रस्तुत गरेको छ। केकी अधिकारी, विजय बराल, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर र सुमन थापासहितको कलाकार टोलीले अभिनय गरेको यो फिल्म पेपरक्लिप ब्यानरअन्तर्गत निर्माताद्वय कमल न्यौपाने र विमल न्यौपानेले तयार गरेका हुन्।