रोमान्टिक हिरोका रुपमा परिचित अभिनेता जीवन लुईँटेल करिब सात वर्षपछि पुनः फिल्म अभिनयमा फर्किन लागेका छन्। फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’ मार्फत उनको पुनरागमन हुने भएको हो। बुधबार उनले औपचारिक रूपमा फिल्म सम्झौता गरेका हुन्।

यस फिल्ममार्फत अभिनेता अर्पण थापा पनि जोडिने भएका छन्। सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जीवनले लेखेका छन्– “केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु। फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदैछु। मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ। अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु।”

फिल्ममा जीवनले **‘सुयोगवीर’**को भूमिका निर्वाह गर्नेछन् भने अर्पण **‘शिवराज’**को भूमिकामा देखिने जनाइएको छ। यसअघि गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’ मा पनि जीवनले यही पात्र (सुयोगवीर) मा अभिनय गरेका थिए। त्यही नाटकको ‘सकम्बरी’ पात्रबाट प्रभावित भई यसै शीर्षकमा फिल्म निर्माण गर्न लागिएको हो।

फिल्मका कार्यकारी निर्माता तथा कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीका अनुसार दोस्रो विश्वयुद्धको कालखण्डका दृश्य समेटिने भएकाले छायांकन म्यानमार (बर्मा) र नेपालमा गरिनेछ। उनले तिहारपछि छायांकन सुरु गर्ने योजना रहेको जानकारी दिए। साथै, फिल्मका निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी) कोबारे भने आगामी साताभित्र घोषणा गरिने जनाइएको छ।

करीब ३ करोड रुपैयाँको अनुमानित बजेटमा बन्न लागेको *‘सकम्बरी’*लाई नेपाली चलचित्र क्षेत्रको महत्वाकांक्षी परियोजनाका रुपमा हेरिएको छ।