असार–साउनमा ठप्पजस्तै भएको नेपाली फिल्म बजार भदौ लागेसँगै चहलपहलमा फर्किएको छ। यही महिना आठ फिल्म आउनेमध्ये माग्ने राजाजनै हराएको मान्छे र ताराहरू शुक्रबारदेखि प्रदर्शनमा आएका छन्।

यीमध्ये हलहरूले बढी भरोसा माग्ने राजा र जनै हराएको मान्छेमा देखाएका छन्। माग्ने राजाले देशभर १४५ शो पाउँदा जनै हराएको मान्छेले ११५ शो पाएको छ भने ताराहरू ३० शोमा सीमित छ। तर व्यापारिक सफलता भने ‘वर्ड अफ माउथ’मै निर्भर रहनेछ।

केदार घिमिरे (माग्ने बुढा)को पहिलो मुख्य भूमिकामा बनेको माग्ने राजा ऋषि लामिछानेको निर्देशनमा तयार भएको हो। यसमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, सारदा गिरीलगायतको अभिनय छ।

हिमाल न्यौपानेको निर्देशनमा बनेको जनै हराएको मान्छे परिवारभित्रका सम्बन्धबारे केन्द्रित छ। यसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारीलगायतका कलाकार छन्।

आशान्त शर्माको पहिलो निर्देशकीय फिल्म ताराहरू भने किशोर जीवनको संघर्ष र आत्महत्याबाट जीवनप्रतिको प्रेरणाको कथामा बनेको छ। यसमा आशान्तसहित मेनुका प्रधान, कुन्दुन शाक्य, मिरा खड्का आदिको अभिनय छ।