‘दुई नम्बरी’मार्फत निर्माता बनेका किरण नेपाली अब निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले आफ्नो पहिलो निर्देशनको लागि महादशाशीर्षकको फिल्म घोषणा गरेका छन् ।

काठमाडौंमा आयोजना गरिएको विशेष समारोहमा फिल्मको प्रि–टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिइयो। प्रि–टिजरमा अभिनेता प्रमोद अग्रहरीको शक्तिशाली भ्वाइसओभर सुन्न सकिन्छ। दृश्यमा झाँक्रीको भेषमा ढ्याङ्ग्रो बजाउने पात्र, महिला–पुरुषबीचको टकराव र रहस्यमय माहोल प्रस्तुत गरिएको छ, जसले कथावस्तु शक्ति–संघर्षसँग जोडिएको संकेत गर्छ।

फिल्म लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्नेछ। यसमा प्रमोद अग्रहरीसँगै प्रेमा लामगाढे, हाकिम गुरुङ र रेअर राईको अभिनय रहनेछ भने अन्य कलाकार केही दिनमै सार्वजनिक हुने बताइएको छ। कथा–लेखन मनिष गौतमको रहेको छ।

फिल्मका निर्मातामा राज के. शाह, श्याम मगर र अमला देवी राई रहेका छन्। कार्यकारी निर्माता सुरज आचार्य हुन्। निर्माण टिमका अनुसार महादशा संस्कार, संस्कृति, अध्यात्म र ग्रह–नक्षत्रको प्रभावसहित समाजभित्रका रहस्यमय घटनामा आधारित रहनेछ। फिल्मको छायांकन दशैंपछि सुरु हुने तयारी छ।