‘रङ्गेली’ र ‘सोल्टिनी’ निर्देशन गरेर चिनिएका अर्जुन सुवेदीले आफ्नो तेस्रो परियोजना सार्वजनिक गरेका छन्। उनले हरितालिका तीजको दिन औपचारिक रूपमा ‘कन्यादान’ नामक नयाँ फिल्म निर्माण हुने जानकारी दिएका हुन्।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको थिम पोस्टरमा विधवा महिलाको सांकेतिक चित्र समावेश गरिएको छ, जसले समाजमा विधवाहरूले भोग्ने मौन पीडा र जीवनलाई पुनः सुरु गर्ने चाहनालाई उजागर गर्छ।
निर्देशक सुवेदीका अनुसार फिल्मको मूल विचार “हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ” भन्नेमा केन्द्रित हुनेछ। समाजका कडाइ र परम्परागत मान्यतालाई चुनौती दिँदै, विधवाले पुनः प्रेम, अधिकार र जीवनप्रतिको नयाँ यात्रा सुरु गर्न सक्ने सन्देश यसमा प्रस्तुत गरिनेछ।
कुमार भट्टराई र सुवेदी स्वयंले लेखेको कथामा बन्ने यस फिल्मलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्नेछ। साथै सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टले सहकार्य गर्नेछन्। फिल्मकी प्रस्तुतकर्ता रेजिना बिष्ट र कार्यकारी निर्माता मार्टिन ओली रहेका छन्।
छायाङ्कन निर्देशनमा सुसन प्रजापति र संगीतमा प्रशान्त सिवाकोटी रहनेछन्। सुवेदीले भने, “यसअघि ‘कन्यादान’ शीर्षकमा दुई फिल्म बने पनि हाम्रो कथा बिलकुलै फरक हुनेछ।”
फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ।