बलिउड फिल्म ‘गजनी’मा दमदार खलनायकको भूमिकाबाट चिनिएका भारतीय अभिनेता प्रदीप रावत अब नेपाली फिल्ममा देखिने भएका छन्। उनी नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनय गर्न बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन्। राजधानीमा छोटो विश्राम गरेपछि उनी फिल्मको छायांकनका लागि चितवन प्रस्थान गरिसकेका छन्।

चितवनमा बिहीबारदेखि सुरु हुने फिल्मको निर्देशन चर्चित द्वन्द्व निर्देशक चन्द्र पन्तले गर्दै छन्। प्रदीप रावतको नेपाली फिल्ममा प्रवेशलाई लिएर नेपाली सिने जगतमा उत्सुकता चुलिएको छ।

‘आ बाट आमा’ मा उनले कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्नेबारे खुलेको छैन, तर उनको उपस्थितिले फिल्मको स्तर र आकर्षण दुवै बढाउने अपेक्षा गरिएको छ।