दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आफ्नो टिजर सार्वजनिक गरेको छ। करिब २ मिनेट लामो टिजरमा दिग्गज कलाकार हरिवंश आचार्य पुनः चर्चित पात्र हरिबहादुर को नयाँ रूपमै दर्शकमाझ फर्किएका छन्।

यसपटक टेलिभिजनमा देखिँदै आएको चतुर चोर वा ठग होइन, जेल जीवन भोगिसकेपछि समाजमा पुनर्स्थापित हुन संघर्षरत हरिबहादुरलाई हास्य–विनोदसँगै संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।

टिजरमा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, कमलमणि नेपाल, निर्मल शर्मा, राजाराम पौडेल, दिनेश काफ्लेजस्ता कलाकारहरूको दमदार उपस्थिति देखिन्छ। राजनीतिक पाटोलाई पनि कथामा महत्वपूर्ण स्थान दिइएको संकेत टिजरमै पाइन्छ।

दीपेन्द्र के. खनाल निर्देशित र हरिवंश आचार्य लेखन रहेको यस फिल्मलाई एसएम मोसन पिक्चर्सले निर्माण गरेको हो। निर्मातामा सरोज ओलीर मोहितवंश आचार्य छन् भने, छायांकनमा कृष्ण बहादुर थापा, सम्पादनमा नकुल खड्का, द्वन्द्व निर्देशनमा राजकुमार उप्रेती र संगीतमा वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपूतको नाम जोडिएको छ।