सन् २०१८ तिर निर्माता माधव वाग्लेले अभिनेता अनमोल केसीलाई लिएर यो फिल्म घोषणा गरेका थिए। तर केही समयपछि उनले फिल्मको सम्पूर्ण स्वामित्व अभिनेता भुवन केसीलाई हस्तान्तरण गरे र आफू परियोजनाबाट अलग भए। त्यसपछि निर्देशकको जिम्मेवारी सिमोस सुनुवारलाई दिइएको थियो। तर पाँच वर्षभन्दा बढी समय बित्दा पनि फिल्म क्यामेरामुनि आउन सकेन।

अब भने ‘पारस’ शीर्षकलाई नयाँ मोड दिँदै निर्देशक कृषा चौलागाईंले आफ्नो होम प्रोडक्सनमार्फत फिल्म बनाउन लागेको जानकारी आएको छ। चलचित्र विकास बोर्डमा भुवनले शीर्षक नविकरण नगरेपछि कृषाले दर्ता गराएकी हुन्। बोर्डमा नाम दर्ता गर्नुअघि उनले भुवनसँग अनुमति लिइसकेको स्रोतले बताउँछ।

कृषाले भने भुवनसँगको पुरानो स्क्रिप्ट प्रयोग नगरी नयाँ कथा लेखन गराएकी छिन्, जसको लेखन कार्य भारतमा भइसकेको छ। हालै उनी पनि भारत प्रस्थान गरिसकेकी छन्।

यसअघि ‘पिताम्बर’ र ‘ऐंचो पैंचो’ निर्देशन गरिसकेकी कृषाले ‘जहाजैमा’ नामक अर्को फिल्मको घोषणा गरेकी थिइन्। तर सो फिल्म कलाकारहरूले अनुबन्ध तोड्दै जान थालेपछि अन्योलमा परेको छ। अब उनले ऊर्जा ‘पारस’मा लगाउने र यसलाई अझ ठूलो स्केलमा बनाउने तयारी गरेकी छन्।