निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ नेपाली फिल्म अभिमन्यू को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहपछि सेभेन सिज सिनेमाको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको ३ मिनेट लामो ट्रेलरले फिल्मको कथा र मुख्य द्वन्द्वको झलक प्रस्तुत गरेको छ।
सुशान्त गौतमको निर्देशनमा बनेको यो पहिलो फिल्ममा प्रेम, अपहरण, फिरौती, बलात्कार, बदला र अनुसन्धानजस्ता विषयलाई केन्द्रमा राखिएको छ। ट्रेलरमा अभिनेता कामेश्वर चौरासिया दमदार रुपमा देखिएका छन् भने लक्ष्मी बर्देबा, सरिता गिरी, गौमाया गुरुङ, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
फिल्मले एउटा घरबारविहीन युवक पैसाका लागि कहाँसम्म पुग्न सक्छ र त्यस प्रक्रियामा ऊ कसरी उल्झिन्छ भन्ने कथा प्रस्तुत गर्नेछ। हास्य, सङ्घर्ष र गम्भीर भावनाको संयोजनसँगै प्रभावशाली ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई थप रोचक बनाएको छ।
अभिमन्यू भदौ २७ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ भने असोज ६ गतेदेखि हिन्दी भाषामा विश्वव्यापी रूपमा रिलिज गरिने योजना छ।
मुकेश खनालले लेखेको फिल्मको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन्। गुञ्जन गिरी सह–निर्माताको रूपमा रहेका छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन्। शरद महतो (डीओपी), मनोज श्रेष्ठ (VFX), सुप्रिम पराजुली (कलर) र मदन घिमिरे (एडिट) समेतको टिमले फिल्मलाई प्राविधिक पक्षबाट सबल बनाएको छ।