नेपाली लभस्टोरी फिल्मका अब्बल निर्देशक दिनेश राउत फेरि आफ्नै प्रिय जनरामा फर्किएका छन्। ‘आइ एम सरी’ बाट निर्देशन यात्रा सुरु गरेका राउतले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथा प्रस्तुत गरेका थिए। पछिल्ला वर्षहरूमा उनले सामाजिक कथानकमा आधारित ‘प्रसाद’ र ‘पुजार सार्की’ बनाए पनि दर्शकको मागलाई ध्यानमा राख्दै अब उनले नयाँ लभस्टोरी फिल्म कुमारी निर्माण गर्न लागेको घोषणा गरेका छन्।

शुक्रबार साँझ टुँडिखेलमा विशेष सांगीतिक कार्यक्रममार्फत फिल्मको पहिलो पोस्टर सार्वजनिक गरियो। पोस्टरमा फिल्मका मुख्य जोडी अभिनेताद्वय अबिसेक खड्का र आकृति राजभण्डारीलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ। अबिसेक यसअघि बेहुली फ्रम मेघौलीमा देखिइसकेका छन् भने आकृति लोकप्रिय गीत बार्दलीकी मोडल हुन्।

कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्ड केहर एन्ड द लुङ्गाले लाइभ प्रस्तुति दिएका थिए। लिम्बू यसै फिल्ममार्फत पार्श्वगायनमा डेब्यु गर्दैछन्। उनले फिल्मको गीत कहाँ छौ प्रस्तुत गर्दा दर्शक उत्साहित बनेका थिए। लिम्बूको ‘लजालु आँखामा डुबेकी यसरी’ पहिले नै चर्चित गीत हो।

कुमारी को निर्माणमा बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमबीच सहकार्य रहेको छ भने निर्माता महेन्द्र अधिकारी हुन्, जसले यसअघि प्रकाशनिर्माण गरेका थिए।

फिल्ममा मुख्य जोडीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

प्राविधिक पक्षमा सुसन प्रजापति (छायांकन), सुप्रिम पराजुली (रङ्ग संयोजन), उत्तम न्यौपाने (साउन्ड डिजाइन), किरण थापा (कोरियोग्राफी) रहेका छन्। संगीततर्फ केहर सिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको कम्पोजिसन रहनेछ भने गीतमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेका शब्द प्रयोग हुनेछन्।

यसै हप्तादेखि काठमाडौंमा छायांकन सुरु हुने कुमारीलाई राउतले दर्शकले निकै अपेक्सापूर्वक पर्खेको फिल्मको रूपमा व्याख्या गरेका छन्।