अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ को टिजरले रिलिज भएको चार दिनमै युट्युबमा ठूलो हलचल मच्चाएको छ। टिजरले अहिले सम्म १५ लाखभन्दा बढी अर्गानिक भ्यूज पाइसकेको छ भने नेपाल मात्र होइन, दर्जनभन्दा बढी मुलुकमा युट्युब ट्रेन्डिङमा समेत स्थान बनाउन सफल भएको छ।
नेपालमा ट्रेन्ड नम्बर १ मा पुगेको टिजर अष्ट्रेलिया, जापान, माल्टा, कतार, यूएई, साउदी अरब, कुबेतलगायतका मुलुकमा समेत चर्चामा आएको छ। यसले फिल्मको प्रतिक्षा अन्तर्राष्ट्रिय स्तरमै उच्च रहेको प्रष्ट पारेको छ।
टिजरमा देखाइएको त्रिकोणात्मक प्रेमकथा, सगरमाथाका दृश्य, आकर्षक सिनेमेटोग्राफी, दमदार ब्याकग्राउन्ड म्युजिक र भिएफएक्सलाई दर्शकले विशेष प्रशंसा गरेका छन्। अनमोल केसीको स्टारडम र उत्कृष्ट मेकिङ नै विश्वव्यापी आकर्षणको प्रमुख कारण मानिएको छ।
दर्शकको प्रेमप्रति कृतज्ञता व्यक्त गर्दै अनमोलले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफू अत्यन्त भावुक बनेको उल्लेख गरेका छन्।
सुयोग गुरुङको निर्देशनमा बनेको यस फिल्मलाई सरोज न्यौपानेले प्रस्तुत गरेका हुन्। फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ।
आगामी असोज ३१ गते प्रदर्शनमा आउने फिल्ममा कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा विश्वास तिम्सिनाको, छायांकन दुलिप रेग्मीको र सम्पादन निमेष श्रेष्ठको रहेको छ।