‘लक्ष्य’, ‘सत्या’ र ‘हिँड्दा हिँड्दै’ निर्देशन गरिसकेका निर्देशक मिलन आले मगरले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन्। आइतबार उनले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै नयाँ परियोजनाबारे जानकारी दिएका हुन्।
नयाँ फिल्मको नाम ‘पूरा भयो सपना मेरो’ राखिएको छ, जुन सामाजिक प्रेमकथामा आधारित रहने बताइएको छ। निर्माता एकराज थापाद्वारा प्रस्तुत हुने यस फिल्मको कथा पनि निर्देशक मिलन आफैंले लेखेका हुन्।
निर्माण पक्षले जनाएअनुसार, फिल्मको छायांकन यसै वर्षको दशैंपछि सुरु गरिनेछ भने कलाकारहरूको नाम केही दिनमै सार्वजनिक गरिनेछ।
यो फिल्म मिलन आले मगरको चौथो निर्देशन हुनेछ। उनले यसअघि ‘लक्ष्य’, ‘सत्या’ र हालै प्रदर्शनमा आएको ‘हिँड्दा हिँड्दै’ निर्देशन गरेका थिए। मिलनले नयाँ फिल्मलाई आफ्ना अघिल्ला कामहरूमध्ये कथावाचनको दृष्टिले अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।