सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म शिवांश आगामी कात्तिक २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। शुक्रबार सार्वजनिक गरिएको पोस्टरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो, जसमा कैलाश पर्वततर्फ जाँदै गरेका महादेव र साँढेको प्रतीकात्मक तस्वीर देखाइएको छ। यसले फिल्म धार्मिक–आध्यात्मिक कथामा आधारित रहेको स्पष्ट संकेत गर्छ। पोखरा आसपासमा छायांकन गरिएको यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् भने विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा बनेको फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूले तयार पारेका छन्। स्क्रिप्ट डक्टरको जिम्मेवारी सुलक्षण भारतीले सम्हालेका छन्। फिल्ममा शम्भू थापा कार्यकारी निर्माता रहेका छन् भने शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता हुन्। सरद महतोले छायांकन गरेका यस फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीका गीत, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी र विराज खड्काको भीएफएक्स रहेको छ। हाल चलचित्र चौतारीमा पोस्ट–प्रोडक्सन अन्तिम चरणमा पुगेको शिवांशप्रदर्शनका लागि तयार हुँदैछ।