अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आउँदो कात्तिक २८ गते (नोभेम्बर १४) बाट नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुने भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमार्फत फिल्मको रिलिज मितिको जानकारी दिएको हो। निर्देशक उदिप राणा थापाले आफ्नो पहिलो फिचर फिल्मका रूपमा तयार पारेको यो फिल्म नेपाली–भारतीय सीमावर्ती क्षेत्रमा बस्ने परिवारहरूको जीवन, भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोको कथामा आधारित छ। सुरक्षा पन्तसँगै प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधानलगायत कलाकारले अभिनय गरेका छन् भने अभिनेत्री वर्षा राउत विशेष भूमिकामा प्रस्तुत छिन्। फिल्मको छायांकन अनिकेर एम. घोघले गरेका हुन् भने सम्पादन अखिलेश रायको, साउन्ड डिजाइन अमित त्रिवेदीको, संगीत पुष्पन प्रधानको र कोरियोग्राफी कविराज गहतराज तथा बसन दर्जीको रहेको छ। ‘धागो’ म्याग्नेट इन्टरटेन्मेन्टको प्रस्तुति र उदिप थापा, उमा थापा तथा उत्तम थापाको निर्माणमा तयार भएको हो भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री रहेका छन्।