अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिकामा तयार फिल्म ‘हर्ष’ को प्रचार अभियान औपचारिक रूपमा सुरु भएको छ। प्रचारको पहिलो चरणमा दुई नयाँ पोस्टर सार्वजनिक गरिएका छन्, जसले फिल्मको पारिवारिक कथावस्तु र भावनात्मक पाटो उजागर गर्छ।

पहिलो पोस्टरमा खगेन्द्र र वर्षासँगै शर्मिला मल्ल खुसी मुद्रामा देखिएकी छन् भने सन्तोष पन्त असन्तुष्ट भावमा प्रस्तुत छन्। दोस्रो पोस्टरमा गीतको सम्भावित दृश्य देखाइएको छ, जसमा खगेन्द्र, वर्षा, सन्तोषसहित विशाल पहारी, लुनिभा तुलाधर, माओत्से गुरुङ र अंशु महर्जननाचिरहेका छन्। नीर शाह भने गम्भीर भावमा प्रस्तुत छन्।

फिल्म मंसिर १२ बाट प्रदर्शनमा आउन लागेको छ। यसको निर्देशन एकता पौडेलले गरेकी हुन्, जो दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। पौडेलले यसअघि फिल्मको टाइटल भिडियो ‘मामा’ लाई स्मरण गर्दै सार्वजनिक गरेकी थिइन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङको अध्ययन गरेकी छन् र आमसंचारमा स्नातक पनि हुन्।

फिल्ममा निमा पाण्डे, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। निर्देशक पौडेलको आफ्नै कथामा आधारित फिल्ममा आलोक शुक्लाको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, तथा सुनिल क्षेत्री र एकता पौडेलको कोरियोग्राफी रहेको छ। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल रहेका छन्।