यस वर्षको दशैंको फूलपातीबाट दर्शकले नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक क्षणको अनुभव गर्न लागेका छन्। अभिनेता समीर भट्टको मुख्य भूमिकामा रहेको फिल्म ‘बलिदान’ अमेरिकाका सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन AMC मा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्ने छ।

निर्देशक सन्तोष सेनका अनुसार, फिल्मले AMC मात्र होइन, सिनेमार्क, मार्कस, र रेगल जस्ता प्रतिष्ठित अमेरिकी मल्टिप्लेक्स चेनमा पनि प्रदर्शन पाउने तयारी गरेको छ। अमेरिकी बजारमा ‘बलिदान’ २०० भन्दा बढी हलमा, १,००० भन्दा बढी शोसहित प्रदर्शन हुने अपेक्षा गरिएको छ।

फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन, कामेश्वर चौरासिया, प्रजल दुलाल लगायतको अभिनय छ। सार्वजनिक टिजरले दर्शकमाझ व्यापक उत्साह सिर्जना गरिसकेकोले बक्स अफिसमा फिल्मले राम्रो प्रदर्शन गर्ने सम्भावना देखिन्छ।

आशुसेन फिल्म्सको प्रस्तुतीमा बनेको यस फिल्मलाई पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्। लेखन दर्शन जी, छायांकन महेश पौडेल, संगीत सुजन चापागाईँ, र द्वन्द्व निर्देशन साम स्टन्डर र श्री श्रेष्ठले गरेका छन्।

‘बलिदान’ले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने नयाँ मानक स्थापना गर्ने विश्वास गरिएको छ।