आगामी दशैंको फूलपातीदेखि रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म हरिबहादुरको जुत्ताले दोस्रो गीत सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको गीत ‘ढाका टोपी शिरैमा’ अहिले युट्युबमार्फत उपलब्ध छ।

लोकलयमा आधारित यो गीतलाई आशिष अविरल र मेलिना राईले स्वर दिएका छन्। शब्द दानबहादुर कार्कीको रचना हो भने संगीत दीपक शर्माले भरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत र स्वस्तिमा खड्काको जोडीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। किरण थापाको कोरियोग्राफीमा तयार गरिएको भिडियोमा प्रकाश–स्वस्तिमाबीचको आकर्षण, माया र असहमतिको द्वन्द्वलाई रमाइलो ढंगले देखाइएको छ। साथै, केही दृश्यमा हरिवंश आचार्यको उपस्थितिले भिडियो अझ रोचक बनेको छ।

फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। यसमा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ। यसपटक हरिवंशले आफ्नो चर्चित पात्र हरिबहादुरलाई नयाँ आयाम दिँदै भावनात्मक पक्षलाई पनि प्रस्तुत गर्ने बताएका छन्।

फिल्मको छायांकन कृष्ण बहादुर थापा, सम्पादन नहकुल खड्का, र निर्माण सरोज ओली तथा मोहितवंश आचार्यले गरेका हुन्। यसअघि सार्वजनिक गरिएको पहिलो गीत **‘बेला बितेसी’**ले नै युट्युबमा २० लाखभन्दा बढी भ्यू पाइसकेको छ भने २ लाखभन्दा बढी टिकटक भिडियोसमेत बनेका छन्।