नेपाली र हिन्दी दुवै भाषामा बनेको फिल्म ‘अभिमन्यु: च्याप्टर वान’ को शीर्षक गीत सार्वजनिक भएको छ। र्यापर भियोमा (Vyoma) को शब्द, संगीत र स्वरमा तयार भएको यस र्याप गीतले पैसाले मान्छेको असली चरित्र कसरी उजागर गर्छ भन्ने सन्देश दिन्छ। गीतले पैसामा माया साटिने र सम्बन्ध टुट्ने कठोर यथार्थलाई पनि प्रस्तुत गरेको छ।
गीतको भिडियोमा र्यापर भियोमा आफैं देखिएका छन् भने फिल्मका केही महत्त्वपूर्ण दृश्यहरू समेत समावेश छन्। निर्माण पक्षका अनुसार ‘अभिमन्यु’ पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फस्ने र त्यहाँबाट मुक्त हुन संघर्ष गर्ने पात्रको कथामा आधारित छ, जसलाई शीर्षक गीतले प्रतिविम्बित गरेको छ।
आगामी भदौ २७ गतेदेखि नेपाली संस्करण प्रदर्शनमा आउँदैछ भने यसको हिन्दी संस्करण असोज ६ गते रिलिज हुनेछ। सुशान्त गौतम निर्देशित फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला, अनिल कुर्मी लगायतका कलाकारको अभिनय रहेको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस फिल्ममा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन र शरद महतोको छायांकन छ। पूर्ण बहादुरको सारङ्गी जस्तो कीर्तिमानी फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरीको लगानीमा बनेको यो चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।