फिल्म ‘रिमै’ यही शुक्रबार (२० भदौ)बाट प्रदर्शनमा आउँदैछ। सो फिल्मको दोस्रो गीत ‘छुटिसकेको’ हालै सार्वजनिक गरिएको छ। पछिल्लो समय ‘रात किन हुन्छ हजुर’ गीतमार्फत निकै चर्चामा रहेका गायक थानेश्वर गौतमको स्वरमा आएको यस गीतमा कवि श्रवण मुकारुङको शब्द रचना र नारायण दंगलको एरेञ्ज सुन्न सकिन्छ। गीतमा शारदा रसाइलीको आवाज पनि रहेको छ।
भावुक शैलीमा तयार पारिएको यस गीतको भिडियोमा दयाहाङ राई र रिश्मा गुरुङ देखिन्छन्। भिडियोले दयाहाङको प्रेमिल रूप र रिश्माको पीडादायी अनुभूतिलाई प्रष्टसँग उतारेको छ। निर्देशक खिल बहादुर गुरुङका अनुसार यो गीत फिल्मकै कथा सुनाउने महत्वपूर्ण अंशको रूपमा प्रयोग गरिएको हो।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस चलचित्रमा दयाहाङ र रिश्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको पनि अभिनय रहेको छ।
फिल्मको कथा–पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले तयार पारेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। कार्यकारी निर्माता वीरबल घले हुन्। साथै टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको भूमिकामा छन्।
यस फिल्मले गुरुङ समुदायको सांस्कृतिक पृष्ठभूमिलाई आधार बनाएर एउटा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।